काठमाडौं । सडक किनरामा रहेका बिजुली र टेलिकमका पोलमा झुण्डिएका तारहरु एक हप्ता भित्रै व्यवस्थित हुने भएका छन् । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले बोलाएको बैठकमा केलब टेलिभिजन महासंघ र इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्थाका प्रतिनिधीले एक महिना भित्रै तार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सूचना तथा सञ्चार मन्त्रालयले एक हप्ता भित्रै अनावश्यक तारको व्यवस्थापन गर्न भनेको थियो । तर केबल टेलिभिजन व्यवसायी र इन्टरनेट सेवा प्रदायकहरुको आग्रहमा एक महिनाको समय दिइएको हो । उनीरुले १५ दिन भित्रै आफ्नो कम्पनीको तारमा लोगो(ट्याग) झुण्ड्याउनु पर्नेछ भने एक महिना भित्रै आफ्ना सबै तारहरु व्यवस्थित गरिसक्नुपर्नेछ ।
एक महिना भित्रै तार व्यवस्थित नगरेमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले त्यस्ता तारहरु काट्नेछ । हाल विद्युत प्राधिकरण र टेलिकमका पोलहरुमा केबल टिभी व्यवसायी र इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना तार जडान गरेर सेवा प्रदान गर्दै आएका छन् । अनावश्यक तार काटे वापतको खर्च भने नेपाल दुर सञ्चार प्राधिकरणले व्यहोर्नेछ ।
यसैबिच त्रिपुरेश्वर देखि कलंकीसम्मको सडकमा रहेका तारहरु भने एक हप्ता भित्रै व्यवस्थित भैसक्नेछन् । ८ औं दिन देखि प्राधिकरण र टेलिकमले सो क्षेत्रमा रहेका तारहरु काट्न थाल्ने जनाएको छ ।
बैठकमा सञ्चार मन्त्री बस्नेतले स्मार्ट सीटी बनाउने भनिएको शहरमा तारहरुको जालो देखिपछि त्यसको व्यवस्थापनका लागि आफु जुटेको बताएका थिए ।
सञ्चार सचिव महेन्द्र मान गुरुङले तारहरुको व्यवस्थापनबाट स्मार्ट सीटी निर्माणको आरम्भ हुने बताएका थिए ।
छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले काठमाडौं लगायतका ठुला शहरलाई वायरलेस बनाउनुपर्ने धारणा राखेका थिए । शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले नयाँ बन्दै गरेका १५० वटा नगरहरुमा भने तार लगायतका पुर्वाधारहरु व्यवस्थापनको मास्टर प्लान बनिरहेको बताएका थिए ।