काठमाडौं । नेपाल राष्ट्र बैंकले सिल्भर हेरिटेजको तीन अर्ब पाँच करोड रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नको लागि सो रकम अष्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जबाट करिब ५ महिना अघि नेपाल भित्र्याएको हो । रकम निकासाको लागि आवश्यक डकुमेन्ट पूरा गर्न नसकेपछि बैंकमै उक्त रकम थन्किएको थियो ।
विदेशबाट आएको यो रकम स्वीकृत गर्न आवश्यक पर्ने डकुमेण्ट पूरा भएपछि रकम निकासाको अनुमति दिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमखु भीष्मराज ढुंगानाले बताए ।
‘राष्ट्र बैंकले रकम निकाल्न बाटो खोलिदिएको छ,’ होटलका अध्यक्ष राजेन्द्र बजगाइँले भने । अबको चार महिनामा होटल सञ्चालनमा आउने छ । राष्ट्र बैंकले रोकिएको रकम निकासा गर्न अनुमिति दिएपछि बजागाईँले अन्य विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताए । अब छिट्टै विभिन्न क्षेत्रमा लगानी गर्नका लागि १५ अर्ब रुपैयाँ नेपाल भित्र्याउँदै छु,’ उनले भने ।
अहिले निकासा हुन लागेको रकमसहित होटल निर्माणको लागि कुल ५ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याएको बजगाइँले जानकारी दिए । होटलमा पूर्ण विदेशी लगानी रहेको छ । हेरिटेज गु्रपले रुपन्देहीको कोटीहवामा ५ तारे होटल निर्माण गरिरहेको छ । हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले क्यासिनो र होटलको क्षेत्रमा लगानी गर्ने ठूलो कम्पनी हो ।
रुपन्देहीमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको नाममा निर्माणाधिन उक्त अत्याधुनिका सुविधा सम्पन्न ५ तारे होटलको प्रत्येक कोठाबाट सुईमिङ पुलसम्मको पहुँच रहेको बजगाइँले बताए । क्यासिनो सहित उक्त होटल निर्माण गरिएको हो । १५ विघाह जमिनमा उक्त होटल फैलिएको छ ।
ग्रुपले झापामा टाइगर प्लालेस रिसोर्ट संचालन गर्ने तयारी गरेको छ । काठमाडौंमा अर्को होटल खोल्ने पनि ग्रुपको तयारी छ ।