काठमाडौं । आन्तरिक उडानमा नयाँ जहाज थप गरेर उडान सुरु गर्न लागेको श्री एयरलाइन्सले जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति पाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिदाँ श्री ले तयारी अवस्थामा राखिसकेको २ वटा जहाज अझै नियमित उडानमा आउन सकेकाे छैन ।
श्रीले ले पहिलो जहाज गत चैत्र ३० गते काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । यसले १५ दिन पछि नै दोस्रो ५० सिट क्षमतको जहाज ल्याएको थियो । एउटा जहाज ल्याएको २ महिना र अर्को पनि डेढ महिना भैसक्यो तर अझै प्र्राधिकरणले आवश्यक प्रक्रिया नपुगेको भन्दै अनुमति दिएको छैन ।
‘श्रीको जहाजले आवश्यक प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ’, उडान सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले बताए । उनका अनुसार आधा प्रक्रिया पूरा गरिसकेको छ भने अझै आधा प्रक्रिया पूरा गर्न बाँकी रहेको छ ।
उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नियम पालना गरेर उडान अनुमति दिनुपर्छ । हामीकोमा आईकाओका २ जना विज्ञ पनि आएर आवश्यक मूल्यांकन गर्ने काम गरिरहेका छन् । ती विज्ञलाई नै मूल्यांकन गर्न श्री एयरलाइन्सको डकुमेन्ट दिएको पनि सुवेदीले बताए ।
उनका अनुसार जहाज उडाउने अनुमति आवश्यक प्रक्रिया पूरा नगरि दिन मिल्दैन । प्रक्रिया पूरा गर्दा समय लाग्नु स्वभाविक नै हो । पछिल्लो सयम नेपालको उड्डय सुरक्षाका विषयको कारण वायुसेवा कम्पनीलाई एओसी लिनै निकै गाह्रो भएको पनि सुवेदीले नै स्वीकार गरे ।
हामीले सम्वन्धित कम्पनीको डकुमेन्ट मात्रै अध्ययन गर्ने हो । हामीले तोकिएको नियम, कानुन र सर्त पालन भएको वा नभएको हेर्ने हो । आवश्यक प्रक्रिया जति छिटो वायुसेवा कम्पनीले पूरा गर्छ उति नै छिटो अनुमति पाउने दाबी पनि सुवेदीले गरे । उनका अनुसार अनुमति छिटो र ढिलो भन्ने विषय सम्वन्धित वायुसेवा कम्पनीकै रहेको पनि उनले बताए ।

१७ वर्षदेखि हेलिकोप्टरवाट सेवा दिइरहको यो कम्पनीले नियमित उडानका जहाज पनि संचालन गर्न २ वटा जहाज ल्याइसकेको छ । नेपाली आकासमा थप सेवा र सुविधा दिने तथा आन्तरिक हवाई यात्रुको लागि थप विकल्प दिन लागेको यो कम्पनीले भने आफ्नो तर्फबाट सबै प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले यसको डकुमेन्ट मूल्यांकन ढिलो गरेका कारण उडान अनुमति पाउन ढिलो भएको पनि उल्लेख छ ।
श्रीले बम्वार्डियर सिआरजे—२०० मोडेलको जहाज २ मिहानादेखि ल्याएर विमानस्थलमै थन्काइरहेको छ । पहिले अन्तरिक उडान र त्यसको ६ महिनापछि नै अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरेको यो वायुसेवालाई नियमक निकायकै ढिलाईले सेवा संचालनको समय धकेलिदैँ गएको छ ।
जहाज उडान तयारी अवस्थामा श्री एयर
श्री एयरले २ वटा जहाज ल्याएपछि त्रिपुरेश्वरमा रहेको श्री हेलिकोप्टरको कार्यालयबाट श्रीलाई अलग गरेको छ । यो वायुसेवाले सिनामंगलमा कार्यालय स्थापना गरेर आवश्यक कर्मचारी नियुक्त गरिसकेको छ ।
१० देखि १२ जना पाइलटलाई आवश्यक तालिम दिएर जहाज उडाउन तयारी अवस्थामा राखेको छ । इन्जिनियरिङङ व्यवस्थापन पनि गरेको श्रीले जानकारी दिएको छ ।
श्री एयरलाइन्सका अनुसार उडान अनुमतिको मात्रै पर्खाइमा छौं, जहाज उडान गर्न जतिबेला पनि गर्न सक्ने गरी तयारी अवस्थामा बसेको पनि यो वायुसेवा कम्पनीको भनाइ छ । यो वायुसेवाले आन्तरिक उडानका गन्तव्य काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गर्ने भएको छ ।