काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि लामो दुरीको उडान क्षमता भएको वाइडवडि जहाज ल्याउने भएको छ ।
नेपालबाट एक वर्षदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको यो वायुसेवा कम्पनीले नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ जहाज ल्याउने भएको छ । वायुसेवा निगमले आगामी एक वर्ष भित्रै २ वटा वाइडवडि जहाज ल्याउने भएपछि हिमालयले पनि दुइवटै वाइडबडिकै आन्तरिक गृहकार्य थालेको हो ।

चिनियाँ वायुसेवा कम्पनी तिव्बत एयरलाइन्सको सहकार्यमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यो वायुसेवामा यति एयरलाइन्सको संचालक आङछिरिक शेर्पाको ५१ प्रतिशत र तिब्बत एयरलान्इको ४९ प्रतिशत सेयर रहेको छ ।
नेपालमा यो वायुसेवालाई यती इन्भेष्टमेन्ट ग्रूपले हिमालय एयरलान्इसको नामबाट संचालन गरेको हो । यसमा चिनियाँ वायुसेवा कम्पनी तिव्वत एयरलान्इनससँग साझेदारी रहेको छ । यो वायुसेवाले कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो योजना अनुसार नै जहाज थप गर्न लागेको जानकारी दिएको छ ।
यसले उडान सुरु गरेको एक वर्ष भित्रमा तीन र दोस्रो वर्ष जहाजको संख्या पाँच वटा जहाज पुर्याउने योजना अगाडि सारेको थियो सोही योजना अनुसार काम भइरहेको पनि हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।
हिमालय एयरलाइन्सका महाप्रवन्धक राजुबहादुर केसीका अनुसार यो साल कुनै योजना छैन, अर्को साल भने पक्कै हिमालय एयरलाइन्सको वाइडवडि जहाज आउँछ ।
हिमालयले सन् २०१८ भित्रै वाइडवडिको जहाज ल्याएर उडान गर्ने भएको छ । हिमालयले आफ्नो उडान गन्तव्य विस्तार र बजार रणनीति अनुसार आवश्यकता अनुसारको जहाज थप गर्दै जाने योजना अनुसार ठूलो जहाज थप गर्ने भएको छ ।
हिमालयले सकेसम्म नेपालको हवाई उड्डयन क्षेत्रको कालोसूची हटेपछि जहाज ल्याएर उडान गर्ने बताएको छ । वाइडवडि चलाउनु भन्दा अगाडि कालोसूची हट्न नसके युरोपेली मुलुकमा जहाज उडाउन पाइदैन । अबको अन्तर्राष्ट्रिय उडानका वायुसेवाका गन्तव्य भनेकै युरोप तथा अमेरिकी मुलुक भएको पनि उल्लेख छ ।
हिमालयले हाल श्रीलंकाको कोलम्बोको उडान यात्रु नभएर कटौति गरेको छ । यो उडानको विकल्पमा हिमालय एयरलाइन्स छिट्टै युएईको दुबाई र साउदी अरबको दमाम जाने भएको छ । हाल यो वायुसेवाले म्यान्मारको यांगुन, कतारको दोहा, र मलेसियाको क्वाललम्बुरमा नियमित उडान गरिरहेको छ ।
हिमालय एयरलाइन्सले पनि हाल तीन वटै एयरवसको ए ३१९ नामक जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । यो वायुसेवाले थप जहाज ल्याँउदै बजार हिस्सा कब्जा गर्दै जाने रणनीति लिएको पनि उल्लेख छ ।
हिमालयले सन् २०१७ भित्र पूर्ण रुपले गृहकार्य गर्ने र सन् २०१८ को सुरुवातमा नै जहाज ल्याउने गरी योजना बनाइरहेको पनि उल्लेख छ ।
निगमले भने नयाँ वाइडिको जहाज ल्याएर दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, जर्मनी, चीनलगायतका मुलुकमा उडान गर्ने भएको छ ।
निगमले गरेकै उडान गन्तव्य नेपालबाट हुने उडानको निम्ति नाफामूलक गन्तव्य भएकोले पनि निगमसँगे प्रतिस्पर्धा गर्न हिमालय एयरलाइन्स अग्रसर भएको हो ।