‘रुख र झन्डा हामीसँगै हुन्छ, संविधान र आयोगले हामीलाई आधिकारिक मान्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन् ।

भृकुटीमण्डपमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले  पार्टीको विधान अनुसार नै विशेष महाधिवेशन भएकोले देशको संविधान र आयोगले यही विशेष महाधिवेशनको निर्णयलाई नै आधिकारिक मान्ने बताएका हुन् ।

‘यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको संविधान र निर्वाचन आयोगले उसैलाई मान्छ,’ उनले भने, ‘त्यसकारण पार्टीको झन्डा र चुनाव चिह्न के होला भनेर चिन्ता लिनु पर्दैन । 

‘साथीहरूले झन्डा के होला, रूख के होला भन्ने चिन्ता लिनु भएको होला, चिन्ता लिनु पर्दैन,’ कांग्रेस दुइटा भए पो झन्डा के होला, रूख के होला भन्ने चिन्ता । यो यहीँ छ, यहीँ रहन्छ । कहाँ जान्छ ? कसले लान्छ?,’ थापाले थपे ।

यस्तै, उनले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । 

‘हामीलाई कारबाही गरेको सुनेका छौं, यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन,’ थापाले भने । 

कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

उनीहरुले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनको आयोजना गरेका थिए । तर, देउवा पक्ष भने विशेष महाधिवेशनमा सहभागी नभएपछि कांग्रेस फुटेको हो । 

Share News