काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू र अर्का महामन्त्री गगन थापा विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।
पार्टी सभापति शेबहादुर देउवा पक्षले कारबाही गरेपछि आफूहरू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ( कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं ।’
‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ,’ उनले थपे।
साथै शर्माले ‘सहमतिका लागि प्रस्तावित ८ बुँदामा कुन कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।
कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।