पैचो पसलले मनायो ११औँ वार्षिकोत्सव, कृषक सम्मानित

गुल्मी । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ ग्रामीण कृषि उपजको बिक्री–वितरण गर्दै आएको पैचो पसलले गाउँमै ११औँ वार्षिकोत्सव मनाएको छ । गाउँको अर्थतन्त्रलाई कृषि उत्पादनमार्फत चलायमान बनाउँदै आएको पैचोले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ स्थित बलेटक्सारमा रहेको केन्द्रीय कार्यालयमा कृषकहरूसँगै वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको विकासका लागि कृषि उत्पादन अपरिहार्य रहेको बताए । उनले भने, 'विश्वमा जति नै प्रविधि विकास भए पनि मानिस बाँच्नका लागि कृषिमै निर्भर हुनुपर्छ । कृषि सम्मानित पेसाका रूपमा विकास गर्न सके मात्र देशले समृद्धि हासिल गर्न सक्छ ।' पछिल्लो समय अनुदान लिनेले काम नगर्ने र रातदिन मेहनत गर्ने किसानले अनुदान नपाउने प्रवृत्तिका कारण कृषि क्षेत्र अपेक्षित रूपमा फस्टाउन नसकेको उनले उल्लेख गरे ।

यस्तै, छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा निरन्तर अनुदान दिए मात्र कृषि क्षेत्र विस्तार हुने बताइन् । उनले आफ्नो पालिकाले २८ वटा कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिँदै आएको जानकारी दिँदै कृषि विकासका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताइन् । साथै, नेपालको पहाडी क्षेत्रलाई फलफूल तथा कृषिका लागि अर्गानिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले कृषि कर्म गर्ने किसानलाई अगाडि बढाउन सके मात्र देश समृद्ध हुने बताइन् । पछिल्लो समय युवा पुस्ता विदेशिए पनि घरमै रहेका महिलाहरूले कृषि गरेर राम्रो आम्दानी गरिरहेको उनले उल्लेख गरिन् ।

पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषिमा अपार सम्भावना रहेको कुरा पैचोले प्रमाणित गरेको बताए । गुल्मी जस्तो पहाडी भूभागमा ११ वर्षअघि कम्पनी स्थापना गरेर काम गर्नु चुनौतीपूर्ण भए पनि अहिले गाउँसम्म पुगेको सडक सञ्जालले काम सहज हुँदै गएको उनले बताए । कृषिमा संलग्नलाई प्रोत्साहन गर्ने नीति बने विदेशमा रहेको युवा जनशक्ति नेपाल फर्किने वातावरण बन्ने उनको भनाइ थियो ।

पैचो पसलका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले पैचोले कृषिमा गरेको लगानीले समाज परिवर्तनका लागि नयाँ आयाम थपिएको बताए । गाउँमा कम्पनी स्थापना हुँदा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान पुगेको उनको भनाइ थियो । कृषिमा चुनौती भए पनि अर्थतन्त्र चलायमान बनाउन यसले ठूलो सहयोग पुर्याउने उनले बताए । आगामी दिनमा किसानसँग जोडिएर लगानी र प्रविधि विस्तारमा पैचोले अझ सक्रिय रूपमा काम गर्ने उनको भनाइ थियो ।

वार्षिकोत्सवका अवसरमा पैचो पसलले उत्कृष्ट किसान समूहका रूपमा सैयापोखरी किसान समूह, ढाव किसान समूह, जिमी किसान समूह, अस्लेवा किसान समूह र मुसिडाँडा कृषक समूहलाई सम्मान गरेको थियो । यस्तै, सर्वोत्कृष्ट कृषकका रूपमा इमान सिंह राना सम्मानित भएका थिए । सम्मान कार्यक्रममा सहभागी कृषकहरू उत्साहित देखिएका थिए ।

Share News