चितवन । चितवनमा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यस वर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताए । उनले लगाएको गोलभेँडा, घिउसिमी, काँक्रोलगायत कृषिउपजले अहिले बजारमूल्य राम्रो पाएका छन् ।
खुलालले भने, 'खेतबाटै बिक्री गर्दा घिउसिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ ।' खेतबाटै बिक्री गर्दा घिउ सिमी १२० देखि १३० र गोलभेँडा प्रतिक्रेटको १ हजार ६०० सयदेखि २ हजार ६०० रुपैयाँसम्ममा बिक्री भएको उनले बताए ।
खुलालले अहिले तीन बिघा जग्गामा तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनी विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउँछन् । तरकारी खेतीमा ग्रेडिङ गरेर बिक्री गर्न सके मूल्य राम्रो पाइने उनको भनाइ छ ।
भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी छन् । विगत सात वर्षदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका उनले १ बिघा १० कट्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । बरालले भने, 'विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ ।' अहिले लौका, काँक्रो, गोलभेँडालगायतले राम्रो मूल्य पाएको उनले बताए ।
घिरौँला, करेलासमेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उनले बताए । केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताए । उनले भने, 'तीन महिनाअघि राम्रो थिएन । अहिले राम्रो छ ।' बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने सङ्केत देखिएको उनले बताए ।
वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्कापर्ने गरेको उनको भनाइ छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो आउने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए ।
जिल्लामा हाल ७ हजार ७७ दशमलब ९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएको छ । असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजारमूल्य पाएको उनले बताए । यहाँको तरकारी विदेशी बजारमासमेत माग हुन थालेको उनले जानकारी दिए । उनले भने, 'यहाँको उत्पादन दुबईमा समेत निर्यात हुन थालेको छ ।' कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताए । रासस