वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।
वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।
त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।
त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ ।