काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ ।
पाँच महिनाको अवधिमा २ हजार ६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा ३ अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१.४० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।