युके डिग्रीको सपना देख्दा दुबईमा दुःख,  ब्रिटिश कलेजविरुद्ध विद्यार्थीको उजुरी

काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजलाई लिएर बेलाबेला प्रश्न उठ्ने गरेको छ । कहिले महँगो शुल्क लिएको, कहिले नेपाली विद्यार्थीलाई विदेश पठाउन केन्द्रित गरेको त कहिल्यै विद्यार्थीहरूलाई विदेश पठाउने भन्दै ठगेका घटनाहरू बाहिरिने गरेका छन् ।

हालैमात्र थापाथलीमा रहेको द ब्रिटिश कलेजले विद्यार्थीलाई विदेशमा पढ्न पठाउने भन्दै ठगी गरेको उजुरी शिक्षा मन्त्रालयमा परेको छ । केही दिन अगाडि विद्यार्थी र अभिभावकले कलेजले शैक्षिक ठगी गरेको भन्दै कलेजमै गएर आन्दोलन गरेका थिए । उनीहरूले छोराछोरीलाई युकेको डिग्री दिने नाममा विदेश लिएर सहमतिअनुसारको सुविधा नदिएको आरोप लगाएका छन् ।

कलेजमा अध्ययनरत एक छात्रा ब्याचलर्स पढ्न २०२३ सालमा कलेजमा भर्ना भइन् । तीन वर्षे स्नातक तहको अध्ययनमा एक वर्ष नेपालमा पढाउने र दुई वर्ष दुबईमा पढाउने कुराले उनलाई ब्रिटिश कलेज मन पर्यो । अभिभावकसँगको सहमतिमा उनी कलेज भर्ना भइन् । एक वर्ष थापाथलीमै अध्ययन गरिन् । 

कलेजले खानेबस्ने होस्टेलको व्यवस्थासहित दुबईमा राम्रो वातावरणमा दुई वर्ष पढेपछि युके डिग्री पाइने भनेको थियो । सोही सहमतिअनुसार उनी २०२४ सेप्टेम्बरमा दुबई गइन् । यसरी दुबई पढ्न जाने विद्यार्थीमा उनको ब्याच पहिलो थियो । 

दुबई पढ्न जान पाउँदा उनी खुसी थिइन् । तर जस्तो  उत्साह भरेर गएकी थिइन्, दुबई पुग्दा त्यस्तो भएन । त्यहाँ बस्न न कुनै होस्टेल थियो न राम्रो बस्ने ठाउँ नै । बरु विभिन्न देशका विद्यार्थी त्यसमा पनि छात्रा र छात्र एउट भवनमा बस्नुपर्ने बाध्यता थियो । 

‘यतिसम्म थियो कि एउटा रुम बाथरुम जति ठूलो पनि थिएन, एउटा बेडमुनि अर्को बेड थियो । सामान राख्ने ठाउँसमेत थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई त्यस्तो ठाउँमा बस्दा सुरक्षित महसुस भएन । पढ्न आएको मान्छेलाई गाईबाख्रा राख्ने गोठजस्तोमा बसेको महसुस हुन थाल्यो । त्यसपछि  म नेपाल फर्कें ।’

उनले दुबईको अवस्थाका विषयमा घरमा अभिभावकलाई जानकारी गराएपछि उनीहरूले दुबई कलेजका प्रिन्सिपलसँग इमेलमा गुनासो गरे ।  एक सातापछि प्रिन्सिपलले उनलाई बोलायो । नेपालमा कलेजसँग भएको सम्झौता र आफूले दुबईमा भोग्नुपरेको बसाइँ फरक भएकाले समाधानका लागि उनले आग्रह गरिन् । 

जवाफमा प्रिन्सिपलले समस्या समाधान गर्ने बताए । ‘मसँग प्रिन्सिपलसँगको कुराकानी पनि रेकर्ड छ, हामीले समस्या सुनाए पनि समाधानका लागि पहल चालिएन, त्यस्तो अवस्थामा बसेर पढ्न सकिनँ र नेपाल फर्कें,’ उनले भनिन् ।

उनीसँगसँगै केही विद्यार्थी नेपाल फर्केपनि धेरैजसो विद्यार्थी भने यही अवस्थामा बसेर दुबईमा अध्ययन गरिरहेको उनले बताइन् ।  पैसा पनि तिरिसकेको र नपढ्दा समयसमेत बर्बाद हुने डरले धेरै विद्यार्थीहरू कुनै प्रतिक्रिया नदिइ बसिरहेको उनी बताउँछिन् ।

‘मैले विद्यार्थीलाई गरिने व्यवहार, त्यहाँ बस्नेखानेको अवस्था नभएपछि सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै आवाज उठाउँछु भनेर नेपाल फर्किएकी हुँ, सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै न्याय मागिरहेकी छु,’ उनले भनिन् ।

उनका अनुसार नेपाल आएर न्यायको लागि आवाज उठाउन सहज छैन । भन्छिन्, ‘कलेजले के भन्यो कुन्नि, दुवईका साथीहरू पनि बोल्न मानिरहेका छैनन्, यहाँ साथीहरू पनि बोल्न तयार हुनुहुन्न । विद्यार्थीलाई आफ्नो समय बर्बाद हुने डरले सहर बसेका छन् ।’

ती छात्राका अनुसार धेरै विद्यार्थी पीडित छन् तर बोल्न सकिरहेका छैनन् । उनले आफूलाई सहयोग गर्ने एकजना साथीलाई पनि कलेजले निकालेको बताइन् । 

साढे ९ लाख कलेजको शुल्क गरी सबै खर्च १६ लाख लागेको उनको भनाइ छ । खानेबस्ने प्रबन्ध गरिदिएको कलेजले दावी गरे पनि आफ्नो खर्च आफै तिर्नुपर्ने अवस्था आएपछि उनी ५ महिनामै नेपाल फर्किएकी हुन् ।

बिट्रिस कलेजका तीन विद्यार्थीको उजुरी

शिक्षा मन्त्रालयका अनुसार तीन जना विद्यार्थीले ब्रिटिश कलेजले ठगी गरेको भन्दै उजुरी दिएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको उच्चशिक्षा शाखाका उपसचिव परशुराम तिवारीले दुबईमा पढ्न गएका धेरै विद्यार्थी ठगिएको भन्दै आउने गरेको बताउँछन् । 

‘कतिपय विद्यार्थी शैक्षिक कन्सल्टेन्सीले ठग्यो भन्दै उजुरी दिन पुग्छन्, कतिपय विद्यार्थी कलेजले नै ठग्यो भन्दै गुनासो गर्न आउँछन्,’ उनी भन्छन्, ‘केही दिन अगाडिमात्रै पनि ब्रिटिश कलेजका तीन जना विद्यार्थी आफू ठगीमा परेको भन्दै गुनासो लिएर पुग्नुभएको थियो।’

उनले विद्यार्थीको गुनासो अनुसार शिक्षा मन्त्रालय यो विषयमा अनुसन्धान बढाइसकेको बताए। 

मन्त्रालयले छानविन समिति नै बनाएर यो विषयमा अनुसन्धान गरिरहेकाले दोषी भेटिए कलेजलाई कारवाही गर्ने तिवारीले बताए ।

उनी उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदा विद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने सुझाव दिन्छन् । 

‘एकातिर पैसाको नास, अर्कोतिर समय पनि नष्ट हुँदा पढ्न जाने विद्यार्थी र पठाउने अभिभावक नै  सचेत हुनुपर्ने देखिन्छ,’ तिवारीले भने ।

शिक्षामन्त्री महावीर पुनले पनि विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा पढाउने केही कलेजहरूले विद्यार्थीलाई ठगी गरिरहेको उजुरीहरू बढ्दै गएको उल्लेख गरेका छन् । यस्ता विद्यार्थी ठग्ने कलेजको विषयमा शिक्षा मन्त्रालयले छानबिन कार्य अगाडि बढाइसकेको उनी बताउँछन् । 

पुनले विदेश पठाउन अघि वा नेपालकै विदेशी कलेजमा छोराछोरी भर्ना गर्नु अगाडि कलेजबारेमा बुझ्नसमेत आग्रह गरेका छन् । 

के भन्छ कलेज ?

ब्रिटिश कलेजले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई नेपालसँगै विदेशमा पढ्न पठाउने अवसर दिँदै आएको छ ।

एक वर्ष नेपालमा र दुई वर्ष दुबईमा पढिसकेपछि फाइनल परीक्षा  अस्ट्रेलिया, युके वा नेपालमै जहाँबाट सहज हुन्छ त्यहीबाट दिन पाइन्छ । यसका लागि कलेजले विभिन्न देशमा रहेका कलेजसँग समझदारी गरेको छ । यही कार्यक्रमअन्तर्गत गत सेप्टेम्बर ८ मा २० जना विद्यार्थी दुवई गएका थिए । जसमध्ये केही विद्यार्थी आफ्नो व्यक्तिगत कारण नेपाल फर्केका छन् । 

यता ब्रिटिश कलेजले भने यो आरोपलाई निराधार भनेको छ । कलेजले विज्ञप्ति जारी गर्दै कलेजमाथि लगाएको आरोप झुटो भएको र कलेजको बदनाम गर्न केही व्यक्ति र समूह सक्रिय भएको बताएको छ । 

कलेजले विज्ञप्तिमा भनेको छ, ‘हामी शैक्षिक गुणस्तर, विद्यार्थी कल्याण तथा जिम्मेवार संस्थागत आचरणप्रति दृढरूपमा प्रतिबद्ध छौं । साथै अहिले बाहिर आएको गलत हल्ला र सूचनाको पछि नलाग्न पनि सबैलाई अपिल गर्दछौं ।’

ब्रिटिश कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले केही व्यक्तिले कलेजलाई बदनाम गर्ने काम भइरहेको बताए ।

‘हाम्रा बच्चाहरू दुबईमा राम्रो वातावरणमा पढिरहेका छन्, केही विद्यार्थी भाइबहिनीहरू आफ्नो व्यक्तिगत कारणले नेपाल फर्किँदा केही अदृश्य शक्तिले चलाइरहेको महसुस भएको छ,’ विकासन्युजसँग कुरा गर्दै मण्डलले भने ।

मण्डलका अनुसार दुबईमा असहज भएको भन्दै ८ जना विद्यार्थी केही समयअघि नेपाल फर्केका थिए । नेपाल फर्केका विद्यार्थीका अभिभावकसँग छलफल भएर सहमति भइसकेको उनले जानकारी दिए । 

बाँकी विद्यार्थीलाई पनि छलफलमा आउन आग्रह गर्दा पनि छलफलमा नआई सामाजिक सञ्जालमार्फत संस्थाको बदनाम गर्ने काम भइरहेको भन्दै मण्डलले आपत्ति जनाए ।

उनले विषय प्रसंग नबुझी विद्यार्थी संगठनको नाममा आएका विद्यार्थीले कलेजमा तोडफोड प्रयास गरेको भन्दै मण्डलले कलेजले कुनैपनि विद्यार्थीमाथि शैक्षिक ठगी नगरेको दाबी गरे । उनले आफूहरू विद्यार्थीका समस्या र गुनासा सुन्न कलेज तयार रहेकोसमेत दावी गरे ।

Share News