निर्वाचनको वातावरण बनाउने कसरतमा सरकार, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटघाटको तयारी

प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीका सञ्चार संयोजक राम रावलले भेटघाटको तयारीबारे छलफल भइरहेको जानकारी दिए । 

यद्यपि अझै मिति र समय भने तय भएको छैन । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो।

शीतलनिवासमा भएको उक्त भेटलाई निरन्तरता दिँदै प्रधानमन्त्री कार्कीले शनिबार (भोलि) आफ्नै पहलमा तीन दलका शीर्ष नेतासँग थप परामर्श गर्ने तयारी गरिरहेको रावलले बताए । उनका अनुसार आगामी निर्वाचनको समय, प्रक्रिया तथा राजनीतिक सहमतिका विषयमा छलफल केन्द्रित हुनेछ ।

देशको समग्र राजनीतिक परिस्थिति र निर्वाचनसँग जोडिएका संवेदनशील विषयमा साझा धारणा बनाउनका लागि यो छलफल महत्त्वपूर्ण मानिएको छ । शीर्ष तहमा हुने यो संवादले निर्वाचनसम्बन्धी अन्यौलता हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको शीर्ष नेताहरूसँगको भेटघाट यही भेटघाटको तयारीका लागि भएको हो । सम्भवतः मन्त्री खरेलले सबै शीर्ष नेतासँग भेट गरेपछि प्रधानमन्त्री र शीर्ष नेताहरूबीचको भेटको मिति र समय तय हुने रावलले जानकारी दिए ।

Share News