काठमाडौं । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए ।
महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिने छन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने आयोजकको विश्वास छ ।
महोत्सवमा सुन्तला विज्ञ किसान र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तला खेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट यस क्षेत्रका जनताले वार्षिक ९ करोड रुपैयाँदेखि १० करोड रुपैयाँको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला स्वादिष्ठ हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनको भनाइ छ ।
सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।