महामन्त्री विश्वप्रकाश यसपटक चुनाव नलड्ने, देशभर कांग्रेस उम्मेदवारका पक्षमा खटिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट गर्दै देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय रहने बताएका छन् ।

बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

उनले आफू पद, क्षेत्र वा व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको स्पष्ट पार्दै पार्टी र लोकतान्त्रिक मूल्य सुदृढ गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

महामन्त्री शर्माले राजनीतिमा देखिँदै आएको बाँचुन्जेल क्षेत्र कब्जा गर्ने र सास रहेसम्म मन्त्री बन्ने सोचप्रति कडा टिप्पणी गरे । 

यस्तो प्रवृत्तिले राजनीति प्रति जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै उनले अब त्यस्ता अभ्यासहरू तोड्नुपर्ने आवश्यकता औँल्याए । नेतृत्व हस्तान्तरण, नयाँ पुस्तालाई अवसर र जिम्मेवारी दिनु नै स्वस्थ लोकतन्त्रको आधार भएको उनको भनाइ थियो ।

उनले कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउन आफू देशका विभिन्न स्थानमा पुगेर उम्मेदवारहरूका पक्षमा चुनावी अभियानमा सहभागी हुने बताए । 

‘व्यक्तिगत उम्मेदवारीभन्दा पार्टीको जित र लोकतान्त्रिक प्रणालीको मजबुती महत्त्वपूर्ण छ,’ शर्माले भने ।

Share News