आगामी चुनावको रणनीति बुन्दै बालेन : रवि लामिछानेसँग वान–टु–वान, बहुपक्षीय संवाद तीव्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट र छलफलमार्फत आफ्नो सक्रियता बढाएका छन् । बिहीबार (आज) ललितपुरको ज्वागलस्थित एकजना समर्थकको घरमा उनले विभिन्न राजनीतिक तथा सामाजिक नेतासँग भेटवार्ता गरेका छन् । 

यस क्रममा उनले आगामी निर्वाचन र हुनसक्ने आगामी गठबन्धनका बारेमा संवाद गरेको स्रोतहरूले बताएका छन् ।

आजको भेटघाटको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग वान–टु–वान वार्ता भएको थियो । दुबै नेताले आगामी निर्वाचनका सन्दर्भमा रणनीतिक सहकार्यका सम्भावनाहरूमा छलफल गरेको स्रोतहरूले बताएका छन् ।

आगामी प्रतिनिधिसभा चुनावको रणनीति, राजनीतिक सहकार्य र वैकल्पिक शक्ति निर्माणको सम्भावना विषयमा छलफल भएको हो ।

त्यस्तै, शाहले ऊर्जामन्त्री तथा उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग पनि भेट गरेका छन् । भेटमा आगामी निर्वाचन र सहकार्यका सम्भावनाहरूबारे कुराकानी भएको छ । बालेनले नेपाली कांग्रेसका नेता सुनील शर्मा र अभियन्ता सुदन गुरुङसँगसमेत संवाद गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्रबहादुर शाही र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट भएको बालेनका एक सहयोगीले जानकारी दिए । 

बालेनले रविसँग वान–टु–वान र अरूसँग सामूहिक भेटघाट गरेको वताइएको छ । भेटघाटमा दुवै पक्षले समसामयिक राजनीतिक विषय र निर्वाचनको तयारीबारे विचार विमर्श गरेका छन् ।

भेटघाटमा सहभागी नेताहरूले पारस्परिक समझदारी र सहकार्य कायम राख्ने संकेत दिएको राजनीतिक वृत्तमा सुनिन थालेको छ । राजनीतिक विश्लेषकहरूले आजका भेटघाटलाई शाहको वैकल्पिक मोर्चा निर्माणको पहिलो चरणको रूपमा मूल्याङ्कन गरेका छन् । 

यस्तै, बालेनले आफ्ना विश्वासपात्र राजनीतिक सहयोगी र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिसँग पनि भेट गरेका छन् । उनले आजको भेटघाटवाट समान लक्ष्य र साझा सोंच भएका नेतासँगको संवादले देशको शक्ति सन्तुलनमा सकारात्मक योगदान पुर्याउने सम्भावना रहेको उनका एक सहयोगीले जानकारी दिए । 

आफ्ना अत्यन्तै नजिकका सहयोगीहरूसँग बालेनले राजनीतिक सहकार्य र विचार विमर्शको माध्यमबाट मात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् । 

स्रोतका अनुसार बालेन मोर्चा निर्माणमा सक्रिय भएपनि निष्कर्षमा भने पुगेका छैनन् । केही नयाँजस्ता देखिएका तर पुरानो संस्कार भएकाहरूसँग सचेत हुनुपर्ने बालेनको तर्क रहेको ती सहयोगीले बताए ।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको यस्तो सक्रियताले आगामी निर्वाचनमा उनलाई रणनीतिक रूपमा बलियो स्थिति बनाउन सहयोग पुर्याउन सक्छ । 

विशेष गरी बालेनले विभिन्न दलका नेतासँगको भेटघाटमा केही नवीन छलफल गरेको बताइएको छ । तर उक्त नवीन छलफल के हो भनेर खुलाउन स्रोत तयार भएन  । उनका समर्थकहरूले यस भेटघाटलाई सकारात्मक रूपमा लिएका छन् । 

संघीय निर्वाचनको तयारीको दृष्टिले बालेनको राजनीतिक सक्रियता निकै महत्त्वपूर्ण मानिएको छ । यो भेटघाटले उनले आफू महानगरमा मात्र सीमित नरही राष्ट्रव्यापी राजनीतिक संवादमा पनि आफूलाई स्थापित गर्दै गरेको पूर्वसंकेत दिए।

यसबीच, भेटघाटमा सहभागी नेताहरूले बालेनसँग सहकार्यका सम्भावनाहरूमा उत्साहसमेत देखाएका छन् । राजनीतिक सहकार्य, साझा सोंच र रणनीतिक योजना निर्माणका लागि उनीहरूको यस किसिमको सक्रियताले आगामी चुनावमा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गर्न सकिन्छ ।

राजनीतिक विशेषज्ञहरूका अनुसार बालेनको यस्तो भेटघाटको श्रृंखलाले केवल काठमाडौं मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उनको प्रभाव बढाउने देखिएको छ । यस भेटघाटले उनी आगामी निर्वाचनका दृष्टिले गठबन्धन र रणनीतिक सहकार्यको दृष्टिले तयार छन् भन्ने सन्देश यस भेटघाटबाट दिन खोजेको छ ।

आजको राजनीतिक भेटघाटले राजनीतिक संवादमा नयाँ उत्साह थपेको भेटघाट पछि रास्वपाका सभापति लामिछानेले दिएको प्रतिक्रियाले आगामी दिनमा बालेनले अझ व्यापक राजनीतिक बैठक र छलफलका माध्यमबाट आफ्नो सक्रियतालाई निरन्तरता दिने तयारीमा रहेको अनुमान लगाउन सकिन्छ ।

Share News