काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीभित्रको आफ्नो जिम्मेवारीप्रति सचेत रहन र बाहिर धेरै नबोल्न सुझाव दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले महामन्त्री थापालाई जिम्मेवारी बिर्सेर अतिरञ्जित ढंगले प्रस्तुत नहुन आग्रह गरेका हुन् ।
उनले पार्टीका पदाधिकारीहरूले आ-आफ्नो भूमिका र मर्यादाभित्र रहेर अभिव्यक्ति दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
महामन्त्री थापाले महाधिवेशनको तालिकाबारे दिएको अभिव्यक्तिप्रति महतले पार्टी एकता र अनुशासन कायम राख्न नेतृत्व तहका नेताहरूले संयमित र जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिए ।
‘पार्टीमा सबैको आ-आफ्नो भूमिका र दायित्व हुन्छ । महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीलाई ख्याल गर्दै अभिव्यक्ति दिनुपर्छ । व्यक्तिगत धारणा प्रस्तुत गर्दा पनि पार्टीको हित र मर्यादालाई प्राथमिकतामा राख्नुपर्छ,’ महतको भनाइ थियो ।
हालैका दिनमा पार्टीभित्र देखिएका मतभेद र सार्वजनिक अभिव्यक्तिका विषयमा सञ्चारकमीहरूका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक छलफल र विधिबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राखे ।
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचार राख्न पाइने भए पनि त्यसले पार्टीलाई कमजोर बनाउने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने पनि बताए ।