काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन सम्बन्धित निकायसमक्ष औपचारिक पहल गर्न राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक कृष्णबहादुर रोकायाले विकासन्युजसँग कुरा गर्दै भने, ‘हामी सदन सञ्चालनको माग गर्न भोलि अध्यक्षज्यूलाई भेट्दै छौं ।’
संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा वर्तमान राजनीतिक परिस्थितिलाई असामान्य र संवैधानिक संकटको अवस्थाका रूपमा चित्रण गरिएको रोकायाले जानकारी दिए ।
दलको बैठकमा प्रतिनिधिसभा असंवैधानिक ढङ्गबाट विघटन गरिएको भन्दै त्यसको आलोचना गरिएको उनले बताए ।
रोकायाका अनुसार देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधिसभा विघटन भएपछि जनताको आवाज उठाउने सार्वभौम सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको अवस्था छ ।
यस्तो अवस्थामा राष्ट्रियसभाको बैठक बस्न अत्यावश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण गर्न लागिएको रोकायाले बताए ।
त्यसैगरी, बैठकले नेपाली कांग्रेसका विभिन्न नेता तथा संविधानसभा सदस्यहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।