काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने बताएका छन् ।
बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले बोलाएमा आफू कानुनी प्रक्रियाअनुसार बयान दिन तयार रहेको बताएका हुन् ।
तत्कालीन केपि ओली सरकारका गृहमन्त्रीसमेत रहेका लेखकले सत्य तथ्य बाहिर ल्याउन जाँचबुझ आयोगसँग पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
उनले आफूले गरेका निर्णय र कार्यहरू विधिसम्मत रहेको दाबी गर्दै निष्पक्ष छानबिनबाट यथार्थ सार्वजनिक हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखी गौरीबहादुर कार्की आयोगमा बयान दिन जान आनाकानी गरेका लेखक अन्तत: बयानका लागि उपस्थित हुने मनस्थितिमा पुगेका हुन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्ने धेरै नेताहरूले बयान दिन जानुपर्ने बताएका थिए ।