काठमाडौं । नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको १२ दिन पूरा भइसक्दा पनि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान वरपरको फोहोर अझै उठेको छैन ।
अत्यन्तै उत्साहका साथ सम्पन्न भएको प्रतियोगितापछि फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै सरोकारवालाहरूले आलोचना सुरु गरेका छन् ।
मैदान आसपासको फोहोर उठाउने विषयमा न त नेपाल क्रिकेट संघ (क्यान)ले चासो देखाएको छ, न त कीर्तिपुर नगरपालिका नै सक्रिय देखिएको छ । यसले आयोजक र स्थानीय सरकारबीचको समन्वय नभएको देखाउँछ ।
क्यानका प्रवक्ता छुम्बी लामाले फोहोर उठाउने जिम्मेवारी संघकै भएको स्वीकार गर्दै फोहोर उठाउन ढिलाइ भएको बताए ।
उनले भने, ‘हामी एनपीएल सकिएपछि अन्य काममा व्यस्त भयौं, अब एक–दुई दिनभित्र विश्वविद्यालय परिसरबाट फोहोर उठाइनेछ ।’