जुम्लामा स्याउलाई मौसमले ठग्यो, मूल्यले न्याय गर्यो

काठमाडौं । कर्णालीको कालो सुनका रूपमा परिचित जुम्ली स्याउले यस वर्ष किसानलाई मालामाल बनाएको छ । असिना र बेमौसमी वर्षाले उत्पादनमा केही गिरावट ल्याए पनि बजार भाउ राम्रो पाउँदा जिल्लामा स्याउबाट मात्रै ४१ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ । 

कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष जिल्लामा १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा किसानले ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा २० हजार ५१२ मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यो वर्ष भने उत्पादनमा १० प्रतिशतले गिरावट आयो ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार असिना पानी र बेमौसमी वर्षाले गर्दा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटनमा सीमित भयो ।

तथापि, उत्पादन कम भए पनि किसानले स्याउको उचित मूल्य पाएका छन् । ‘गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले राम्रो मूल्य पाएकाले आम्दानी बढी भएको अनुमान छ,’ प्रमुख अधिकारीले भने ।

जुम्लाका लागि स्याउ केवल फलफूल मात्र नभएर जीवनयापनको मुख्य आधार बनेको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी २४ हजार ८३८ परिवार बसोबास गर्छन्, जसमध्ये १९ हजार १५० परिवार प्रत्यक्ष रूपमा स्याउ खेतीमा संलग्न छन् ।

अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए ।

नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए ।

जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताए ।

जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उहाँले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिए । 

गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको उनले बताए । 

Share News