काठमाडौं । तिहारअघि आधा दर्जन कम्पनीले सेयरधनीको खातामा लाभांश पठाउने तयारी गरेका छन् । सेयर बजारमा सूचीकृत ७ कम्पनीले तिहारअघि नै लाभांश वितरण गरेर सेयरधनीकाे खातामा पठाउने तयारी गरेका हुन् । लगानीकर्ताले चाडपर्वमा लाभांश रकमबाट खर्च गर्ने सोच बनाएका हुन्छन् । दशैं-तिहार अगावै लाभांश प्राप्त पाउँदा लगानीकर्ताहरु मख्ख हुने गर्छन् ।
लगानीकर्ताको इच्छा पनि चाडपर्व अघि नै राम्रो प्रतिफल पाएर धुमधामका साथ चाडपर्व मनाउने हुन्छ । पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरूसँग रमाइलो गर्ने अभ्यास पनि छ । सकेसम्म आफूले लगानी गरेको कम्पनीले दशैं अगाडि नै लाभांश देओस् भन्ने अपेक्षा गरेका हुन्छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये २१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तर, ७ कम्पनीले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने देखिएका छन् ।
यसपटक सूचीकृत कम्पनीहरूमा माछापुच्छ्रे बैंकले मात्रै दशैं अगाडि लाभांश वितरण गर्न सफल भयो । लाभांश घोषणा गरेका कम्पनीहरुमा सानिमा बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र नेपाल ल्युब आयलले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएका छन् ।
दशैंमा नसकेपनि सकेसम्म तिहार अगाडि नै लाभांश वितरण गर्न सूचीकृत कम्पनीहरुले प्रयास गरिरहेका हुन्छन् । तर, लाभांश घोषणा गरेर पनि एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल, युनिलिभर नेपाल, मुक्तिनाथ कृषि कम्पनीले भने तिहार पछि मात्रै वार्षिक साधारण सभा बोलाएका छन् ।
‘यसपालिको चाडपर्वमा लगानीकर्ताको हात रित्तो भयो, विगतमा केही कम्पनीले दशैं-तिहारमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि वितरण गर्न छाडे, यसपालि दशैं तिहारमा लगानीकर्ताको हात रित्तो भयो,’ एक लगानीकर्ताले भने ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ
सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको हो । असोज २४ गते काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभाले डाकेको छ ।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ ।
यूनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँको ९ प्रतिशतका दरले २० करोड ५१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १ करोड ७ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण बोलाएको थियो । तर, गणपूरक संख्या नपुगेपछि कम्पनीको साधारण सभा स्थगित भएको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७४ करोड ८४ लाख रुपैयाँको १५ प्रतिशतका दरले ११ करोड २२ लाख ६० हजार रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतका दरले ५९ लाख ८ हजार रुपैयाँ नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजी ८५ करोड रुपैयाँको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।
युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँको प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको छ ।
नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशतका दरले ७ लाख ६६ हजार रुपैयाँ नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरमा ३४औँ वार्षिक साधारण सभा बोलाएको छ ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।