काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा जफत गरी राखिएको सुनसहितको ‘इलेक्ट्रोनिक सिगरेट’ हराएको घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
भन्सार ऐन, २०६४ अन्तर्गतको आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको ठहरसहित ललितपुर महानगरपालिका–२६, खुमलटार बस्ने ६८ वर्षीय महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
२०७९ साल पुस १० गते फ्लाई दुबैको एफजेड ०५८७ फ्लाइटमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हान्सङले २ वटा सुटकेशमा ७३ बट्टा अर्थात् ७३० थान भेप्स अवैध रूपमा ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए ।
जफत गरिएका ती ‘भेप्स’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो । तर, नायव सुब्बा रेवन्त खड्का लगायतको संलग्नतामा उक्त स्टोरबाट ७३० थान सुनसहितका भेप्स चोरी गरी बेचबिखन गरिएको अनुसन्धानमा खुलासा भएको सीआईबीले जनाएको छ ।
जफत सामग्रीको कुल मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ रहेको छ ।
सीआईबीका अनुसार महरा पक्राउ परेसँगै घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान भइरहेको छ ।
सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले यस प्रकरणमा आपराधिक समूहले संगठित रूपमा लाभ लिएको प्रमाण फेला परेको जानकारी दिए ।