गुल्मीका भण्डारीले कृषिबाटै कमाए ३ लाख, २ सय बोट कागतीको उत्पादन बेच्न बाँकी

काठमाडौं । गुल्मीको धुर्कोट–५ बस्तुका कृषक निमकान्त भण्डारीले कृषिकर्मबाटै यस वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका छन् । ६८ वर्षको उमेरमा पनि भण्डारी कृषि पेशामै सक्रिय छन् ।

भण्डारीका छिमेकी रमेश भण्डारीका अनुसार निमकान्तले यस वर्ष भैँसी बिक्रीबाट मात्रै ८० हजार रुपैयाँ कमाएका छन् । यस्तै, उनले दुईवटा बोका बिक्रीबाट ३९ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

केरा बेचेर ५५ हजार र खुर्सानीबाट २५ हजार रुपैयाँ आम्दानी गरेका छन् । निमकान्तले गत सिजनको सुन्तला बिक्रीबाट ८७ हजार रुपैयाँ आम्दानी गरेका थिए । उनी भन्छन्, 'यस वर्ष सवा लाख जतिको सुन्तला बेचिएला ।'

उनले आफ्नै खेतमा उत्पादन भएको धान र मकै बेचेर पनि ५० हजार रुपैयाँ कमाएको बताए । साथै, सुकेको घाँस र पराल ३० हजार रुपैयाँमा बिक्री भएको निमकान्तको दाबी छ ।

उनको बारीमा १०५ गाज केरा, ८ सय बोट सुन्तला र २ सय बोट कागती रहेका छन् । उनले अकबरे खुर्सानीको खेतीसमेत गरेका छन् । उनको गोठमा विभिन्न जातका भैँसी र बाख्रासमेत रहेका छन् ।

Share News