झापामा बाढीले ४ करोडको क्षति, साढे २ हजार बालबालिका प्रभावित

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब २ हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका २ हजार ५ सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिए ।

‘प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ । सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनि सकिएको छ,’ उनले भने ।

अविरल वर्षापछिको बाढीले जिल्लामा करिब ४ हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै ३ हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए । गत २३ गते यता झापा गाउँपालिका वडा नं १ र २ का करिब १ हजार ७ सय बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उनको भनाइ छ ।

बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजीअ प्रसाईँले बताए ।

पानी जन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्याङ्ककी राख्ने काम भइरहेको जनाइएको छ । राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् ।

करिब ४ हजार परिवारलाई वितरण गर्न सकिने गरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजीअ प्रसाईँले बताए । अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव नरहेको उनको भनाइ छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले २ हजार परिवारलाई राहत दिन पुग्ने गरी करिब ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताए । 

बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल १ बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु ५ केजी, दाल २ केजी, पानी १ कार्टुन, म्याट २ थान र कम्बल २ थान वितरण गरिँदै आएको छ ।

कनकाईमा ४ करोडको क्षति

यसैबीच, गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगरक्षेत्रमा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरक्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ भने करिब ८ सय मिटर सडकमा क्षति पुर्याएको छ ।

‘नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन । नगरक्षेत्रमा बाढीका कारण करिब ५० घरपरिवार प्रभावित भएका छन्,’ नगर प्रमुख पोखरेलले भने । 

विभिन्न सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा राहत वितरणको काम भइरहेको बताउँदै उनले तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर राहतका कार्यक्रम ल्याइने बताए । 

Share News