जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले सहयोग गर्ने

काठमाडौं । व्यवसायिक घराना गोल्यान ग्रुपले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ । 

सहिदको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै मृतकका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । 

छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने गोल्यान ग्रुपले सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने बताएको छ ।
 
‘हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौं । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो,’ गोल्याण ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने पनि बताएको छ ।

Share News