काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा कम्पनीको अनुमतिपत्र रद्द गरिएको छ । राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायक र फस्ट पे टेक्नोलोजी प्रालिको भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र रद्द गरेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार प्रभु टेक्नोलोजीलाई विसं २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो । तर, भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नवीकरण नगरिएको हुँदा कम्पनीको अनुमति पत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, फस्ट पे टेक्नोलोजीलाई विसं २०७६ फागुन १३ मा भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्रदान गरिएको थियो । भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
यी दुई कम्पनीसँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।