कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा-नोक्सान बाँडफाँट विवरणलगायत सबै अनुसूचीहरू पारित गरेको छ ।

त्यसैगरी, आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति गठनसमेत गरिएको छ । संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कार्यक्रममा सेयरधनीहरूले विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।

सीईओ थकालीले बैंक निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र प्रतिस्पर्धी बनाउँदै सेयरधनीलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

Share News