लाइसेन्स लिएर मात्रै क्यासिनो लगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले क्यासिनो लगायतका संस्थाहरूलाई लाइसेन्स लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको हो । 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको लाइसेन्स प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।

क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद-४ मा व्यवस्था गरिएको छ । 

त्यसैले ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले लाइसेन्स लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न तथा गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । 

Share News