राष्ट्रपति पौडेलले गरे सर्वदलीय बैठक आह्वान

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सहमतिको अभाव र संवादहीनता बढ्दो अवस्थामा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (आज) अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संविधानको कार्यान्वयन र आगामी निर्वाचनका चुनौतीहरूबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

सरकारले निर्वाचन आयोगको तयारीलाई देखाउँदै संवाद र सहमतिको पहल नगरेको आरोप विपक्षी दलहरूले लगाएको बेला राष्ट्रपतिले बैठक बोलाएका हुन् ।  
प्रधानमन्त्री कार्कीले भने निर्वाचन तयारीलाई अघि बढाउने काम भइरहेको बताउँदै आइरहेकी थिइन् । 

निर्वाचन तयारीको रटानलाई विपक्षीहरूले राजनीतिक संवाद टार्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका थिए।

राष्ट्रपति पौडेलको यो पहललाई राजनीतिक वृत्तमा संविधानको आत्मा जोगाउने प्रयासका रूपमा हेरिएको छ । 

विश्लेषकहरूले हालको परिस्थितिलाई लोकतन्त्रप्रति सरकारको प्रतिबद्धताको परीक्षाका रूपमा लिएका छन् ।

Share News