काठमाडौं । अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ केजी कायम गरेको जनाएको हो । यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो ।
साथै राष्ट्र बैंकले दैनिक २५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने व्यवस्था गरेको छ ।
नेपालमा दर्ता भएका फर्म तथा कम्पनीले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि २० लाख रुपैयाँसम्म मात्रै रेमिट्यान्स ल्याउन मिल्ने व्यवस्था थियो ।
यसरी इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्ने छ ।