जेनजी आन्दोलनमा ३ सय बढी नेताको घरमा आगजनी र तोडफोड, कुन पार्टीलाई कति क्षति ?

एमालेलाई बढी असर

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक पार्टी र शीर्ष नेताहरूका घरमा गरिएको आगजनी तथा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरुका घरमा आगजनी र तोडफोड गरेका हुन् ।

नेकपा एमालेका महासविच शंकर पोखरेलका अनुसार जेनजी आन्दोलनमा पार्टीको एउटा केन्द्रीय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय र ६४ वटा जिल्ला कार्यालयमा क्षति पुगेको छ । साथै, जेनजीहरु आन्दोलनकारीहरुले एमाले पार्टीका १५८ जना भन्दा बढी शीर्ष नेताको घरमा आगजनी र तोडफोड गरिएको उनले बताए । 

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाका अनुसार जेनजी आन्दोलनबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालयमा क्षति पुगेको छ । राष्ट्रियस्तरका १२५ जना नेता तथा कार्यकर्ताको घर तथा निवास जलाइएका छन् । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयसहित ३१ वटा पार्टी कार्यालय र १८ जना शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएको छ । 

जनता समाजवादी पार्टी (जसपा) नेतृ रेखा यादवका अनुसार जसपा पार्टी कार्यालयमा क्षति नपुर्याएपनि केन्द्रीय कार्यालयमा रहेका सबै सामानहरु बाहिरि निकालेर सबै जलाइएका छन् । जसपा पार्टी कार्यालय भाडामा सञ्चालन भइरहेको थियो । जसपाका शीर्ष नेताहरुमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावत र सुनिता शाहको घरमा आगजनी गरिएको उनले बताइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीका अनुसार जेनजी आन्दोलनबाट रास्वपाको डडेल्धुरा र नुवाकोट जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेर सामानहरू जलाइएका छन् भने अर्घाखाँची कार्यालयमा होडिङ बोर्ड तोडफोड गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीका अनुसार नेकपा एस पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ भने १० वटा जिल्ला पार्टी कार्यालयमा तोडफोड गरिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ११ जना शीर्ष नेताको घरमा आगजनी तथा तोडफोड गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राम प्रकाश चौधरीका अनुसार पार्टीका कुनै पनि कार्यालयमा क्षति भएको छैन । तर, शीर्ष नेताहरूमा शरतसिंह भण्डारीको घरमा भने आगजनी गरिएको उनले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता गोपाल दाहालका अनुसार राप्रपा पार्टीको सुर्खेत, दाङ, चितवन, कञ्चनपुर जिल्ला पार्टी कार्यालय जलाइएका छन् भने केन्द्रीय कार्यालयमा सामान्य क्षति पुर्याएको छ । पार्टीको कोशी प्रदेश सांसद सविना बजगाईं, लुम्बिनी प्रदेश सांसद मेनुका खाँण र दमक नगरपालिकाका मेयर राम कुमार थापाको घरमा आगजननी गरिएको छ । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा आगजनी र तोडफोड गरिएको छ । 

सम्बन्धित सामग्री :

जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त

जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी

जेनजी आन्दोलनमा माओवादीका ३१ कार्यालयमा आक्रमण हुँदा १५ करोडको क्षति

Share News