भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरूले धारणा राखेको बताए ।

उहनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए । 

उनका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो । बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । 

बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरि भोलि छलफल हुने उनले जानकारी दिए ।

जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने महतको भनाइ छ । 

Share News