काठमाडौं । नेपाली कांग्रेसले सधैं निर्वाचनमा जान तयार रहेको पार्टीका रुपमा आफूलाई चिनाएको बताएको छ । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा भाग लिन जहिल्यै तत्पर रहेको बताएका हुन् ।
‘कांग्रेस सधैं निर्वाचनका लागि तत्पर छ, लोकतान्त्रिक पार्टी भएकोले पनि त्यसमा सहमत नहुने कुरा भएन तर सरकारले कति निष्पक्ष हिसाबले काम गर्छ भन्ने हो,’ उनले भने ।
यस्तै, उनले संसद पुर्नस्थापनाको ढोका भने बन्द नभइसकेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्बोधनका क्रममा कांग्रेस पनि पुर्नस्थापनाको पक्षमा उभिन्छ भन्नु भएको छ, यसमा कांग्रेसको धारणा के छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महतले भने, ‘हामी निर्वाचनका लागि जहिल्यै तत्पर छौं तर संसद पुर्नस्थापनाको ढोका पनि बन्द भएको छैन ।’
अन्तरिम सरकारले फागुन २१ गते संघीय चुनावको मिति तय गरेको छ । अहिले निर्वाचन हुने नहुने विषयमा सरोकारवालाले प्रश्न उठाइरहेका छन् ।