काठमाडौं । नेपाली कांगेसको पन्ध्रौं महाधिवेशन मंसिरमा गर्ने तयारी बिहीबार बसेको पदाधिकारी बैठकले गरेको छ ।
बहुसंख्यक नेताहरू विशेष महाधिवेशनको पक्षमा रहे पनि पदाधिकारी बैठकले नियमित महाधिवेशनको प्रस्ताव २६ गते बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो ।
पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो ।
यसभन्दा अगाडि नेकपा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने नेकपा एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने तयारी गरेको बुझिएको छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बसेको हो ।
प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थिति थिएनन् ।
असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।
उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।