काठमाडौं । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
गृहमन्त्री अर्यालले बिहीबार दिउँसो नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए ।
मन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरीको काउन्टरमा परेको निवेदनले ल्याउने चुनौतीसहितका विषयमा छलफल भएको बुझिएको छ ।
यस्तै, निर्वाचन मिति घोषणा भएको अवस्थामा सुरक्षामा आइपर्न सक्ने चुनौती, नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिम र जेनजीका नाममा विभिन्न समूहले गर्न खोजिरहेको प्रदर्शनका विषयमा समेत छलफल भएको बुझिएको छ ।
मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका प्रमुखसँग भएको छलफलकै आधारमा रहेर केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको दाबी छ ।