काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार (आज) २ बजेबाट बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयमा छलफल हुने उनले बताए ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।
प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्य लाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।
उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।