‘यो नेपालीको सरकार होइन, म सुशीला कार्कीसँग डराउँदिनँ’

गृहमन्त्रीलाई चेतावनी- ‘गृहमन्त्री बाबु धेरै नचम्किनू’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीको नभएको बताएका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान अन्तरिम सरकार नेपाली र नेपालले नचुनेको र अन्य कसैले चुनेको भए थाहा नभएको बताएका हुन् । 

सुशीला कार्कीले प्रधानमन्त्री बनेपछि संसद भंग गर्ने पूर्व सर्त राखेर संसद विघटन गर्ने काम लोकतन्त्रको जग भत्काउने काम भएको ओलीको भनाइ छ । 

नेपालको संविधानले सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्ति सरकारी पदमा बस्न सक्दैन भन्ने व्यवस्था भए पनि कार्कीले त्यसलाई उल्लंघन भएको धारणा उनको छ । 

‘केपी ओलीलाई गिरफ्तार गर्न राति ३ बजेसम्म बैठक राखिरहेका छन् । केपी ओली लगायत केही व्यक्तिको पासपोर्ट रोक्का गर्ने काम गरेको छ, यो हाहुबाट बनेको सरकार हो, यसको व्याख्या गरेको छैन, समय आएपछि गरौंला,’ उनले भने । 

ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई बाबु भन्दै धेरै नचम्किन पनि चेतावनी दिए । उनले आफू चुनौतीको भाषा बोल्न तयार नभएको बताउँदै तर कहिलेकाहीँ यस्तो भोग्नुपर्ने दिन आउने बताए । 

उनले देश कानुनीराजको बाटोमा देशलाई फर्काइने बताए । उनले पछिल्लो विध्वंश जेनजीले नगरेको धारणा राखे । 

उनले अहिलेका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने धारणा राखे । उनले अहिलेका मन्त्रीहरूले गज्जबको नाटक गरेको बताए । 

‘यस्तो नाटक एमालेलाई स्वीकार्य छैन, एमालेलाई नक्कली आयोग मञ्जुर छैन,’ उनले भने । 

Share News