काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीकी तत्कालीन उपकुलपति प्राडा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले दायर गरेको मुद्दामा प्रतिवादीहरूलाई कम गुणस्तरको एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरी सरकारी कोषलाई १२ करोड ७ लाख रुपैयाँभन्दा बढी क्षति पुर्याएको आरोप लगाइएको छ ।
मुद्दामा उपकुलपति भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी लगायत अन्य ८ जनालाई पनि संलग्न देखाइएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार प्रतिष्ठानले एमआरआई मेसिन खरिद गर्दा मापदण्डविपरीत प्रक्रिया अपनाएर मूल्य र गुणस्तर दुवैमा अनियमितता गरेको पाइएको हो । यसका कारण राज्यकोषलाई करोडौंको नोक्सानी भएको आयोगको दाबी छ ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय, बिगो र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।