काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा सूर्यविनायक नगरपालिकाको गुण्डुमा उक्त कार्यक्रम सम्पन्न हुने एमाले भक्तपुरले जानकारी दिएको छ ।
कार्यक्रमको नाम ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ राखिएको एमाले भक्तपुरका अध्यक्ष किरण थापाले जानकारी दिए ।
यस कार्यक्रमको प्रमुख उद्देश्य पछिल्लो समय मुलुकमा विकसित असामान्य राजनीतिक परिस्थिति र त्यसको सन्दर्भमा एमाले नेता तथा कार्यकर्ताहरूले लिने रणनीतिक भूमिका स्पष्ट पार्नु रहेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री समेत रहेका थापाले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेता, जिल्ला र वडा कमिटीका पदाधिकारीहरू, जनसंगठनका प्रतिनिधिहरू तथा सर्वसाधारणको सहभागिता रहने छ।
भक्तपुर जिल्ला एमालेका अनुसार यो कार्यक्रम पार्टीको नीति, दृष्टिकोण र कार्यदिशा सर्वसाधारणसम्म पुर्याउने एक महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।
यस विशेष कार्यक्रममा ओलीको सम्बोधनसँगै पार्टीको आगामी राजनीतिक यात्रा र संगठनात्मक रणनीतिहरू थप स्पष्ट हुने विश्वास लिइएको थापाले बताए ।