सडक विभाग र निर्माण व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन - ‘सडक चाँडै सञ्चालनमा ल्याउनुस्’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएका चौकीडाँडालगायतका सडक क्षेत्रहरूको स्थलअनुगमन गरेका छन् । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडक खण्डको अवलोकन गरेको हो ।

बाढीले बगाएको सो सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने लाइफलाइन सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् ।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । सो खण्डमा अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिएको थियो। तर, यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ ।

गत वर्ष क्षति पुगेको सडक स्थायी रूपमा पुनर्निर्माण गर्न केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी केही खण्ड ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

Share News