काठमाडौं । असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् ।
यहाँ खुर्कोट-मन्थली-चरिकोट-मुडे-खाडिचौर हुँदै दोलालघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ । सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थली स्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहर बोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ ।
बीपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौं आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौसल न्यौपानेले बताए । दसैँ मनाएर आ-आफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उहाँले बताए ।