कहाँ पाइन्छ सबैभन्दा सस्तो सुन ?

काठमाडौं । सुनको मूल्यले हरेक दिन ऐतिहासिक रेकर्ड कायम गर्दै जान थालेपछि अहिले जताततै चर्चाको विषय हुन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्य अझै बढ्ने आंकलन व्यवसायीहरूको छ । नेपाल सुनचाँदी व्यवसायीहरूका अनुसार सुनको मूल्य अबको डेढ महिनामा २ लाख ६५ हजार पुग्ने अनुमान छ ।

सुनको मूल्य अन्तर्राष्ट्रिय विनिमयमा निर्धारण गरिन्छ । तर विश्वका हरेक देशमा मूल्य फरक-फरक हुन्छ । यसको कारण केवल अन्तर्राष्ट्रिय बजारको दर मात्र नभएर मुलुकको आन्तरिक कारणहरू पनि हुन् । 

कुनै देशको केन्द्रीय बैंकमा रहेको सुनको भण्डार (गोल्ड रिजर्भ), त्यहाँको मुद्रा (विशेष गरी अमेरिकी डलर) को शक्ति वा कमजोरी, सप्लाई र डिमान्डको स्थिति र स्थानीय कर तथा भन्सार शुल्क (ट्याक्स र इम्पोर्ट ड्युटी) लगायतले सुनको मूल्यमा प्रभाव पार्छन् । यसबाहेक मुद्राको उतारचढाव हुँदा पनि सुनको मुल्य सस्तो वा महंगो हुने गरेको छ ।

बिजनेस वेबसाइट फोर्ब्सका अनुसार बहराइन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरब, सिङ्गापुर, दुबई, अमेरिका र पेरुमा सुन तुलनात्मक रूपमा सस्तो पाइन्छ ।

यी मुलुकमा सस्तोमा सुन पाउनुको मुख्य कारण ती देशहरूमा सुनमा लाग्ने कर वा भन्सार शुल्क निकै न्यून हुनु हो  । विशेषगरी दुबईलाई ‘ट्याक्स–फ्री गोल्ड हब’ को रूपमा परिचित छ । 

दुबईमा सुन खरिद गर्दा कुनै भन्सार शुल्क वा कर लाग्दैन । लागे पनि अत्यन्त न्यून लाग्छ । यहाँ सुनको मूल्य प्रायः अन्तर्राष्ट्रिय मूल्यसँग चल्ने भएकाले सस्तो पर्छ । साउदी अरबमा भौतिक रुपमा सुन खरिद गर्दा भ्याट लाग्दैन ।

तर नेपाल, भारतजस्ता देशहरूमा उच्च भन्सार शुल्क र करका कारण सुन महँगो पर्छ । यही कारण धेरै विदेश भ्रमणका क्रममा सस्तो दरमा सुन किन्ने गर्छन् ।

सुनको मूल्य छिट्टै ३ लाख पुग्ने प्रक्षेपण, वार्षिक २० प्रतिशतको प्रतिफल

Share News