काठमाडौं । हालैको बाढी-पहिरोबाट क्षतिग्रस्त भएका घरहरू पुनःनिर्माण गर्ने निर्णय कोशी प्रदेश सरकारले गरेको छ । बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी-पहिरो पीडित सबै परिवारका लागि नयाँ घर बनाइदिने निर्णय गरेको हो ।
बैठकले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लामा पुननिर्माण कार्य तत्काल सुरू गर्ने तयारी गरेको छ । क्षगिग्रस्त घरहरूको विस्तृत विवरण संकलन गर्दै पुनःनिर्माणको काम सँगसँगै अघि बढाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
साथै इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । पुनःनिर्माण र राहत कार्यको समन्वयका लागि विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कार्कीका अनुसार इलाम जिल्लाको समन्वय प्रदेशका अर्थमन्त्री रामबहादुर राना, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिलामन्त्री रेवती रमण भण्डारीले गर्नेछन् । उनीहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पुर्निनर्माण कार्यलाई तीव्रता दिने कार्कीले बताए ।
सुनसरी जिल्लामा वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिलामन्त्री भण्डारीले संयुक्त रूपमा समन्वय गर्नेछन् ।
झापा जिल्लाको समन्वय खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले गर्नेछन् । बैठकले चालु आर्थिक वर्षका बजेट र योजनाहरू पुनरावलोकन गरी आवश्यक भएमा कटौती गरेर पुननिर्माणमा बजेट विनियोजन गर्न सिफारिस गरेको छ ।
साथै भौतिक पूर्वाधार मन्त्रालयलाई बाढीले अवरुद्ध पारेका सडकहरू तत्काल खोल्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।