पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध घुस प्रकरणमा मुद्दा दर्ता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई जना मन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेको हो । उनीहरूसँगै ५ जना बिचौलियालाई समेत प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ ।

मुद्दा पोखरास्थित लिचीबारी जग्गा प्रकरणसँग जोडिएको छ । अख्तियारका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा गरिदिने तथा आफू अनुकूलको व्यक्तिको नियुक्ति गरिदिने आश्वासन दिँदै ५३ लाख रुपैयाँ घुस लिएको अडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

गत असार २८ गते सार्वजनिक भएको उक्त अडियोमा मन्त्री गुप्ता घुस लिँदै गरेको स्पष्ट सुन्न सकिन्छ । त्यसपछि आयोगले प्रारम्भिक अनुसन्धान गर्दै दोषी देखिएका मन्त्रीद्वयसहित अन्य प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

Share News