हरियो तरकारीको मूल्यमा अस्वभाविक वृद्धि, किलोको २ सयमा पाइने धनिया ८ सय पुग्यो

काठमाडौं । गत शनिबार र आइतबारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो । 

सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरुले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् । सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ । कालिमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालिमाटी बजारमा भित्रिने भएपपनि  दशैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो । 

जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रुपमा तरकारी उपलब्ध गर्न समस्या भएको उनको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘अविरल वर्षाको कारण दशैँ पछाडि बजार तरकारी आएन । त्यसकारण दशैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ ।  धनिया मात्र पनि दशैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो । अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैया पनि पुग्यो । आपूर्ति कम र माग बढी हुँदा महंगियो ।’

सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरूको विश्वास छ । 

Share News