उत्पादन बढी र माग कम हुँदा अलैंचीको मूल्य प्रतिमन ८० हजारमा झर्याे

काठमाडौं । सङ्खुवासभामा यो वर्ष अलैंचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ रहेकामा यसपटक भने ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

एक दशक अघिदेखि ओरालो लागेको अलैंचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैंचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको अलैंची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार गत वर्ष प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो । 

‘उत्पादन बढी र माग कम भएका कारणले अलैंचीको मूल्य घटेको हो । गत वर्ष ९० हजार रुपैयाँदेखि १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार  रुपैयाँ र ग्रेडिङ नभएको अलैंची ८० हजार  रुपैयाँमा कारोबार भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने । 

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची ९८ प्रतिशत नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ । 

Share News