काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाइने भएको छ । बिदा स्वीकृत नगराइ गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्ने जनाएको हो ।
गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ । यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ ।
साथै, लामो समयदेखि बिदा स्वीकृत नगराइ कार्यालयको सम्पर्कमा नरहेका १८ जनालाई नेपाल प्रहरीले ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सहायक हवल्दार निजामुद्धिन पठान, देवराम तावड रहेका छन् । यस्तै, प्रहरी जवानहरुमा पारस बुढा मगर, राजन घिमिरे, कमल बि.सी. उत्तम बहादुर विष्ट, करन बहादुर चन्द, श्रीराम परियार, अनिल बि.क., अजित राई, भुपेन्द्र सिंह ठगुन्ना, अर्जुन धिताल, अनिल प्रसाद यादव, रोहुल्ला राय भाट, कौशिला बोगटी, सन्जय रुम्बा तामाङ, दिपेन्द्र चौधरी र राहुल कुमार राउत मेहतर रहेका छन् ।
