काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (९२.१९ प्रतिशत) घटेर २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भएको छ ।
आज १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर रहेको छ । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यस समूह बढी प्रभावित भएको छ ।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशतले घटेको छ ।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशतले घटेको छ ।
आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । मूल्य धेरै बढ्नेमा सेन्चुरी डिबेन्चर १० प्रतिशत , एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशत मूल्य वृद्धिसहित अगाडि छन् ।
धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् ।