काठमाडौं । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले जेनजी आन्दोलन पश्चात् उत्पन्न राजनीतिक जटिल परिस्थितिका कारण यूएईले भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेको बताएका छन् । जेनजी आन्दोलनको बेला बाहिरी निस्किएका कैदी बन्दीलाई नियन्त्रणमा नलिएसम्म भिसामा कडाइ हुन सक्ने उनले बताए ।
‘युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडि बढिरहेको देश हो । नेपालमा जेनजी आन्दोलनपछि जेलमा रहेका धेरै कैदीबन्दी तथा अपराधी बाहिरिएका छन् । जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौँ, तबसम्म युएईजस्ता देशहरूले भिसामा कडाइ हुन सक्ने देखिन्छ,’ उनले भने ।
राजदूत क्षेत्रीका अनुसार युएई सरकारले भिसा कडाइ गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त गरेको छैन । यद्यपि देशको सुरक्षाको दृष्टीले सावधानी अपनाउन युएई सरकारले कदम चालेको हुन सक्ने उनले बताए ।
‘नेपालमा छिट्टै शान्ति र अमन चयन तथा स्थिरता र विश्वसनीय वातावरण हुना साथ भिसा नीतिमा फेरि सहजता हुनेछ । युएईमा रहेका नेपालीहरू मेहनती, इमान्दारी, लगनशील, सरल, शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको छ,’ उनले भने ।
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरे । भिजिट भिसा लिएर काम दिलाई दिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ ।
‘दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन् । यस्ता अपराध गम्भीर प्रकृतिका छन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ । प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,’ उनले भने ।
युएई रोजगारीमा आउँदा सरकारबाट मान्यता प्राप्त एजेन्सीबाट मात्र आउनु र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नु पर्ने उनले बताए ।
उनका अनुसार युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी रहेकाले विभिन्न ठगी, मानव बेचविखन तथा आपराधिक घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् ।