काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौंडा-काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् । प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेकका सवारीसाधनलाई ३ दिनसम्म काठमाडौं प्रवेशमा रोक लगाउने सूचना जारी गरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।
इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदोसहितको पहिरोले फाखेल-काठमाडौं सडक खण्ड तथा सिस्नेरी हुँदै काठमाडौं जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल खुलाउन पहल गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताए ।
मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीन कुमार सिंह नेतृत्वको टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी फाखेल सडक खण्ड ३ घण्टाभित्रै पहिरो पन्छाएर सञ्चालनमा ल्याएको थियो । सिस्नेरी खण्डमा भने वर्षा रोकिए लगत्तै स्काभेटर सहित सुरक्षाकर्मीको टोली परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ ।
निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारी साधनलाई काठमाडौं पठाइएको थियो ।
उक्त मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ४ स्थानमा जेसिबी, स्काभेटरलगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको थियो । पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको उनले बताए ।
उनका अनुसार सम्भावित अवरोधलाई ध्यानमा राख्दै कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली, मातातीर्थ र भैँसे-भीमफेदी खण्ड गरी ४ रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ । कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुने गरी तयारी अवस्थामा रहेको उनले बताए ।